![]() |
| Hira bhatta |
आमा भन्दै जुन रगतका आडमा फुल्छ प्राण
त्यै आमाको रज अशुभ भो हानियो लाख वाण
ढुङ्गा हान्दा तन कुसुमले आज सुक्दैछ बोट
भन्द्यौ रारा किन छुइ भइन् गाउँकी छाउगोठ?
।१।
खान्नन् होला दुध घिउ दही लाग्छ रे देवश्राप
छुन्नन् होला जल मठ लता छोइदा लाग्छ पाप
भाला रोप्दै किन समयले चोटमा थप्छ चोट?
भन्द्यौ रारा किन लुकिबसिन् गाउँकी छाउगोठ?
।२।
कुट्दा कुट्दै मन मगजमा कल्पनाका सिरौला
भाँच्छिन् होला गलित तनले हातका पाँच औंला
काँप्दा काँप्दै जल रस छुने चाहमा सुक्छ ओठ
भन्द्यौ रारा कति दिन भइन् गाउँकी छाउगोठ?
।३।
टाढा टाढा घर बगरका साथमा मिल्छ वास
बिच्छी किर्ना अझ शयनमा बेरिने नागपाश
बाँच्दा मर्दा कति कति बने जिन्दगी भित्र मोड?
भन्द्यौ रारा किन मरिरहिन् गाउँकी छाउगोठ?
।४।
ऐया ऐया मुख वचनले सासले गर्छ ऐया
कुर्दै होला विमुख मधुरो दीपले मृत्यु शय्या
धर्ती काँप्यो तन मगजमा पोल्छ ज्वालाग्नि जोड
भन्द्यौ रारा किन जलिरहिन् गाउँकी छाउगोठ?
।५।
आत्मा आत्मा बिच असजिलो चेप कस्ले बनायो?
देवी मर्दा गदगद हुने देव कस्ले बनायो?
फर्की हेर्दा किन भ्रमरले फूलमा देख्छ खोट?
भन्द्यौ रारा कति दिन मरिन् गाउँकी छाउगोठ?
।६।
लैजा डाँफे करुण कविता आँसुमा लेखिएको
कर्णालीको निकट गहिरो छालमा देखिएको
त्यो खोलीमा मगमग घुलोस् आँसु पुछ्ने अठोट
भन्द्यौ रारा मुसुमुसु बनून् गाउँकी छाउगोठ?
।७।
छन्द-मन्दाक्रान्ता
रचनाकार-हिरा भट्ट
जन्मस्थल-पञ्चेश्वर-६,बिजुल,बैतडी
सम्पर्क:- hirabhatta@gmail.com


0 Comments