महिनावारी
वनपाखा सङ्ग रम्दै
ढुङ्गामाटोसङ्ग खेल्दै
मृगश्रवक झैँ उफ्रीउफ्री
स्वतन्त्र जिन्दगी बिताईरहेकी उनी
त्यही दिन जेल झैँ जीवन बिताउन
बाध्य भईन
जब पहिलोपल्ट महिनवारी भईन ।
तोड्न नसकेको परम्पराले
निषेधित गराईयो उनलाई चुलोचौकामा
हेर्न दिएनन् आफ्नै बा को अनुहार पनि ।
सुम्सुम्याउन पाईनन भाईको अनुहार
अलग्ग्याईयो घरबाट
सारियो प......र को गाईगोठमा
जहाँ घामले पनि प्रवेश पाउन्न ।
हरेक बिहान घामको सुनौलो किरणसङ्गै
मुस्कुराउने ओठहरु
गोबरका गन्ध सङ्गै सुरुवात हुन थाले ।
गाईगोरुले राती हात गोडा चलाउदा
कति पटक हंस गयो उनको
निरन्तर झरी र हुरि वतासले कति पटक
सास उडाई लग्यो उनको
खै कस्ले बुझ्यो ?
जिवनमा कहिल्यै नभोगेको पीडा
यस्तो लाग्थ्यो
सिङ्गो पहाड छ उनिभित्र
जुन कम्पन हुँदा पटकपटक मर्थिन उनी दुखाईले
चिच्याउथिन रुन्थिन न सुन्ने कोहि
न देख्ने कोहि..
शारिरिक पीडा, मानसिक तनाव
दिनप्रतिदिन जिर्ण हुँदै गएको शरिरले
प्रत्येकपल तातो पानी, न्यानो कपडा
सुख्खा ओछ्यान, न्यानो घामको अपिल
गरिरह्यो
तर बिडम्बना भत्काउन नसकेका बन्धनका पर्खाल
उखेल्न नसकेका अन्धविश्वासका जराले
शिथिल बनाउदै लगियो उनलाई ।
एकरात,
ए पुरुष तिमी पुरुष भएकै कारण
कम्सेकम महिनावारीको पीडा र अपमान
त सहनुपरेको छैन ।
चिच्याईन ठूलो आवाजमा ।
र नारी शृष्टिकर्ता हुन्
जो बिना मानव उत्पत्ति र विकास सम्भव छैन
त्यसैले नारिलाई सम्मान गरौं ।
भन्दै बिना म्याडमले पढाईएको पाठ सम्झिईन
र सम्झिइन
महिला हिंसा अन्त्य गरौं भन्दै
घरघर प्रचारमा हिडेको आफ्नै माईली दिदी
बलात्कारको शिकारमा परि
ज्यान गएको हृदयविदारक घटना ।
अनि खसालिन वर्षात आँखाबाट र फेरिन
जिन्दगीको अन्तिम सास ।
गागलटार भदौरे ४
रामेछाप नेपाल



0 Comments